रातो टिका निधारमामा भित्रिइन् नीता

 

यस वर्षको दशैंमा प्रदर्शनमा आएको चलचित्र जय भोलेको सफलतापछि भेट्रान निर्देशक अशोक शर्मा अर्को दशैंमा रातो टिका निधारमा लिएर आउँदैछन् । अहिले उनी चलचित्रका लागि कलाकार चयनमा जुटेका छन् । लिड अभिनेता र अभिनेत्रीबाहेक अरु कलाकार फाइनल भएको निर्देशक शर्माले जानकारी दिए । हालै मात्र अभिनेत्री नीता ढुंगाना फिल्ममा अनुबन्ध भएको खवर प्राप्त भएको छ ।

यद्यपी उनि लिड अभिनेत्री भने होइनन् । उनको जोडी फिल्ममा हाँस्यकलाकार रबिन्द्र झासँँग बाँधिनेछ । गोप्य स्रोतका अनुसार निर्देशक शर्मा लिड हिरोमा अभिनेताहरु अनमोल केसी वा प्रदीप खड्का एकलाई लिने सोचमा छन् । तर, यस विषयमा आफूले अहिलेसम्म नसोचेको उनले बताए । चलचित्रमा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर हुने पनि चर्चा छ ।

बैशाख अन्तिम साता वा जेठ पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रमा नीता र रबिन्द्रबाहेक बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी फाइनल भइसकेका छन् । केही दिनयता चलचित्रको गीत रेकर्डिङको काम भइरहेको निर्देशक शर्माले बताए । चलचित्रमा दर्शक अगाडि प्रदर्शनमा आएको निर्देशक शर्मा निर्देशित फिल्म अल्लारेमा समावेश रातो टिका निधारमा गीतलाई रि-एरेञ्ज गरेर राखिने छ ।

पुरुषोत्तम प्रधानले खिच्ने ‘रातो टिका निधारमा’ मा शम्भुजित बाँस्कोटाको संगीत रहनेछ । निर्देशक अशोक शर्माले १२ वर्षपछि चलचित्र जय भोलेमार्फत् निर्माण र निर्देशनमा कमब्याक गरेका थिए । कमब्याक चलचित्र सफल भएपछि उनी अब फिल्म निर्देशनलाई निरन्तरता दिने सोचमा छन् ।
डिसिएनका मालिक समेत रहेका उनले गरीब, सीता, नीरमाया, यो मायाको साग लगायतका चलचित्र निर्देशन गरेका छन् ।