भदौमा निरफूल

 

काठमाडौं – पत्रकार फूलमान वलको निर्देशनमा तयार भएको चलचित्र ‘निरफूल’ को प्रदर्शन मिती तय भएको छ । दयाहाङ राईको मुख्य भुमिका रहेको चलचित्र आगामी वर्षको भाद्र २७ गतेबाट नेपालभरका हलमा रिलिज हुनेछ । यो चलचित्रलाई वितरक मनोज राठीले वितरणको जिम्मा लिएका छन् ।

‘निरफूल’ मा भूकम्पले बिछोडिएको एक परिवारको प्रेमकथा समेटिएको छ । एक वर्ष अगाडि नै छायांकन सकिएको भए पनि विभिन्न कारणले यो यो चलचित्र प्रदर्शनमा आउन सकेको थिएन । एनिमेसन र भीएफएक्सको काम सकिन समय लागेका कारण चलचित्र प्रदर्शनमा आउन समय लागेको निर्देशक वलले बताए । चलचित्रमा अभिनेत्री रेखा थापा बिशेष भुमिकामा देखिने छिन् । ‘निरफूल’ मा दयाहाङ राईको अलवा शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडालगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिनेछ  ।

चलचित्रको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । सिनेमामा धादिङ रुबी भ्यालीको एउटा परिवार मार्फत् कथा भन्ने प्रयास गरिएको निर्देशक फूलमान वलको भनाई छ ।

फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र ग्रिनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको सिनेमाको कार्यकारी निर्माता डोमा सोनाम हुन् । प्रमोद कार्कीको छायांकन रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत छ । सिनेमाको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।