विद्रोही रेखा थापा

 

काठमाण्डौं : निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बढी भयो, हत्यारा पत्ता लाग्न सकेको छैन । पोखरामा मामाघर हिँडेकी किशोरी बलात्कृत भइन् । काठमाडौंमा सामुहिक बलात्कारपछि हत्या भयो । काठमाडौंमै बन्धक बनाएर एक चेलीको बलात्कार भयो । बुटवलमा राति निद्रामा मस्त एक युवतीलाई छतवाट फालेर हत्या प्रयास गरियो ।

पछिल्लो समय पत्रिकाहरूमा आएका यथार्थ यी समाचारले जो कसैको मनलाई नदुखाइरहन सक्दैन । नारीहरू असुरक्षित भएको महसुस गरेर त्रासबीचमा बाँचिरहेका छन् । पुरुषहरू आफू पुरुष भएकोमा आत्मग्लानीले छटपटिन्छन् ।

काठमाडौंको राइजिङ महलमा टे«लर लन्च कार्यक्रममा बलात्कार विरुद्ध बोल्दै अभिनेत्री रेखा थापाले भनिन्, ‘चलचित्र ‘मालिका’ केही महिनाअघि मात्रै प्रर्दशन गर्न पाएको भए यस्ता घटनामा थोरै भए पनि कमी आउने थियो ।’ उनले अझै थपिन्, ‘आशा छ, चलचित्र प्रदर्शनपछि यसले महिला हिंसा र बलात्कारका घटनामा कमी ल्याउन केही न केही भूमिका मद्दत पक्कै पनि गर्नेछ ।’

समाज परिवर्तनका लागि अबका दिनहरूमा महिला सधैं त्रासदीमा बाँचिरहनु हुँदैन । यो चलचिले महिलामाथि लादिएको महिलाहरू कमजोर र भावुक हुन्छन् भन्ने कु्रलाई चिरिदिने रेखाको दाबी छ । उनले भनिन्, ‘चलचित्र प्रदर्शनपछि प्रत्येक घरमा मालिका जन्मिनेछ ।’

पछिल्लो समय दैनिक रूपमा बलात्कार, हत्या तथा नारी हिसांका घटना बढिरहेका छन् । लाग्छ हामी जंगली युगमै बाँचिरहेका छौं । केही दिनअघि मात्रै गृहमन्त्री रामवहादुर थापाले बलात्कार र जघन्य अपराधका दोषीलाई फाँसीको कानुन ल्याउनुपर्छ र त्यो कानुन ल्याउन अब पहल गर्ने बताएका छन् ।

बलात्कारीलाई फाँसी नै दिने या बलात्कारको घटना हुनै नदिने, यो छुट्टै बहसको विषय हो । जब कि पाँच महिनामा सात सय १० बलात्कारका घटना सार्वजनिक भएको छ । तर उजुरी भने तीन सयको हाराहारीमा रहेको छ ।

यस मामलामा नेपाली फिल्म नगरीमा नायिका रेखा थापाले आफ्नै किसिमले पहल गरेकी छिन् । उनले नारी प्रधान चलचित्रहरू ‘काली’, ‘रामप्यारी’, ‘हिम्मतवाली’, ‘किस्मत’ लगायताका चलचित्रमा नारिको हकहित र शक्तिका विषयमा आफ्नै किसिमले पहल गरेकी छिन् । अहिले प्रदर्शन हुन लागेको चलचित्र ‘मालिका’ पनि त्यस्तै किसिमको चलचित्र रहेको अभिनेत्री रेखा थापा बताउँछिन् । उनको यो किसिमको प्रयास फिल्मी क्षेत्रमा मान्छेले सामाजिक इस्युमा बोल्दैनन् भन्ने कुरालाई गलत साबित गरिदिएकी छिन् ।

०००

रेखा थापा । नामै काफी छ नेपाली सिने जगतलाई राम्रोसँग नियाल्नेहरूका लागि । नेपाली फिल्मलाई आफ्नै स्टारडममा चलाउन सक्ने हैसियत राख्छिन् । र चलाएकी पनि छिन् ।

पछिल्लो समय उनले जति फिल्म बनाइन्, ती फिल्महरूमा सधैं केन्द्रमा रहेर काम गरिन् ।

फिल्म निर्माणकै विषयलाई लिँदा पनि रेखा अगाडि नै छिन् । उनले ‘काली’, ‘रामप्यारी’, ‘हिम्मतवाली’ जस्ता चलचित्र निर्माण गरिसकेकी छिन् । ती फिल्महरूमा उनले विशेष गरेर हाम्रो समाजको जर्जर अवस्थालाई चित्रण गरिन् । त्यति मात्र होइन, प्रश्न पनि उठाइन् र त्यसको समाधानको बाटो पनि देखाइदिइन् । भलै त्यहाँसम्म सरकारको ध्यान गएन, फिल्म क्षेत्रलाई मनोरञ्जन क्षेत्र मात्र मान्ने मानसिकताका कारण ।

रेखा राजनिती र त्योभन्दा बढी व्यक्तिगत रूपमै समाजसेवामा सक्रिय छिन् । उनी चलचित्र ‘हिरो’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म दुई सय बढी चलचित्रमा अभिनय गरिसकेकी उनले सन् २०१० र २०११ मा उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् । सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा अवार्ड पनि हात पारेकी थिइन् ।

उनको परिचय त्यतिमा मात्र सीमित हुँदैन । रेखा कलाकार जन्माउने प्रोडक्सन हाउस पनि हुन् । उनले अहिलेसम्म थुप्रै अभिनेत्री, अभिनेता र चलचित्रकर्मी जन्माएकी छिन् । उनले दुवै हात नभएका सुदर्शन गौतमलाई अभिनेता बनाइन् । त्यस्तै सविन श्रेष्ठ, आर्यन सिग्देल, आयुष रिजाल, नरेन खड्का, किशोर खतिवडा लगायतलाई हिरो बनाइन् ।

उनले नेपाली चलचित्रमा थुप्रै क्यामेरा म्यान र अन्य धेरै कलाकार जन्माएकी छिन् । यो हिसाबले पनि अभिनेत्री रेखा थापा अब्बल हिरोइन् हुन् । साँच्चिकै हिरो हुन् नेपाली सिने जगतले पाएको । अहिले उनले निर्माण गर्न लागेको चलचित्र ‘मालिका’ आउँदो कात्तिक १६ मा रिलिज हुँदैछ । यो चलचित्रवाट समेत रेखाले नयाँ हिरो जन्माउँदैछिन् ।

रेखा राजनीतिमा समेत उत्तिकै सक्रिय भइन् । तत्कालीन एमाओवादी केन्द्रकी सदस्य समेत भइन् । पछि उनी राप्रपाको केन्द्रीय सदस्यमा भारी मतले विजयी भइन् । संविधानसभा निर्वाचनमा सभासदका लागि उमेद्धवारी दिने खबरले पनि चर्चामा आएकी थिइन् । तर कता के मिलेन उनी उठिनन् ।
रेखा चलचित्र क्षेत्रमा मात्रै हैन, अन्य क्षेत्रमा पनि उत्तिकै सफल छिन् र क्रियाशील पनि । भूकम्पका बेला पीडितलाई सहयोग गर्नेदेखि, आफंै लास जलाउने, विपन्न परिवारलाई सहयोग गर्नेसम्मका काममा रेखाको सक्रियता रह्यो । यो सक्रियता अझैं जारी छ, जारी रहनेछ ।

अहिले रेखालाई लिएर विभिन्न कोणहरूबाट बहस भइरहेको छ । उनका फ्यानहरूले रेखालाई ‘महानायिका’ को उपाधि दिनुपर्छ भनिरहेका छन् ।
रेखा थापा महानायिकाको उपाधिका लागि योग्य छिन् त ? यो अहिले उठिरहेको सवाल हो । फेरि रेखालाई महानायिका भन्ने केही आधारहरु पनि छन् । ती कुराहरूलाई खोतलेर उनलाई उक्त उपाधि दिने हो भने खास फरक नपर्ने भनेर सवालहरू उठिरहेका छन् ।
०००
झण्डैं २०१८ वर्षदेखी निरन्तर चलचित्र क्षेत्रमा संघर्षरत कोहि अभिनेत्री छन् भने त्यो रेखा थापा मात्रै हुन् । अन्य अभिनेत्रीहरु पनि त छन् नी भन्ने प्रश्न सिर्जना होला, तर अरु अभिनेत्री कहिले विचमा अन्तै मोडिए, पछि जोडिन आईपुगे । अहिलेसम्म दर्जनौं सम्झनलायक चलचित्र दिईसकेकी अभिनेत्री रेखा थापा एक दिन पनि अन्य पेशा गरिनन् । चलचित्रवाटै सवै खर्च चलाईन् र चलाईरहिन् ।

०००

नेपाली चलचित्रकी चर्चित यि अभिनेत्री वर्षौदेखी महिला मुक्तिका लागि आवाज उठाउनमै व्यस्त छिन् । र, व्यस्त भईरहनेछिन् भोलीका दिनामा पनि । आफैंमा पनि विद्रोही स्वभावकी उनले समाजका महिलामाथि घट्ने विभिन्न घटनाहरूमाथि लडाइँ लडिरहेकी छिन् ।

फिल्मको माध्यमबाट साथै व्यक्तिगत रूपमा अग्रसर भएर पनि बोलिरहेकी छिन् । उनका यस किसिमको कदमले परिर्वनको संकेत गर्छ । त्यसका लागि रेखा हाफू सँधै लागिरहने बताउँछिन् ।

समय बग्दै जानेछ, समयको बगाइसँगै रेखाले पनि काम गर्दै जानेछिन् । उक्त कामको मूल्यांकन इतिहासले अवश्य पनि गर्ने नै छ ।