पैसावालाले लथालिङ्ग बनाए गायन क्षेत्र

नवलपरासी दाउन्नेका सुरज पौडेल गायन क्षेत्रमा चिनिँदै गरेका गायक हुन् । नेपाल टेलिभिजनबाट ६७ सालमा प्रशारण भएको भ्वाइस अफ टिनमा चौथो भएका पौडेल त्यसपछि निरन्तर गायन क्षेत्रमा संघर्षरत छन् । गायक पौडेलसँग गायन क्षेत्र र नेपाली संगीत क्षेत्रसँग नजिक रहेर रामजी ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश । सं.

suraj-paudel-848x600

भ्वाईस अफ टिनमा चौथो हुनुभएको मान्छे, किन सोचेजति अगाडि नआउनुभएको ?
– हराएको र सोचेजति अगाडि आउन नसकेको भन्दा पनि म भ्वाईस अफ टिनपछि निरन्तर यसै क्षेत्रमा छु । त्यसलगत्तै वसन्त सापकोटाको शब्द संगीतमा ‘सुरज’ एल्बम ल्याएको थिएँ । खासमा तपार्इंले भनेको प्रश्नलाई यसरी जवाफ दिन मन लाग्यो, म भ्वाईस अफ टिनपछि काठमाडौंलाई केन्द्र बनाएर गायन यात्रा अगाडि बढाउनुपर्ने हो तर त्यसपछि पनि मैले बाहिरैबाट गीत संगीतमा लागिरहें । त्यसो भएकाले पनि हुन सक्ला अगाडि नदेखिएको ।
अहिलेसम्म कति गीत ल्याउनुभयो ?
– अहिलेसम्म १५ वटा गीत ल्याएको छु । अहिले म दोस्रो एल्बमको तयारीमा छु । गीतहरू लगभग तयार हुन थालिसकेका छन् । एल्बमको नाम अझैसम्म जुराएको छैन, सायद केही हप्तामै यो कुरा थाहा हुनेछ ।
एक दर्जनभन्दा बढी गीत ल्याइसक्नुभएको छ, कुन गीतले बढी सन्तुष्टि दिएको महशुस गर्नुहुन्छ ?
– खासमा मैले जति गीत ल्याएको छु ती सबै गीतमा मैले उत्तिकै मिहिनेत गरेको छु र पनि केही गीतले नसोचेको प्रतिफल दिएको छ । मैले गाएका गीतहरूमा म्यासप कभर ‘के यो माया हो÷कभि जो बादल वर्षे’ केही बढी चल्यो र यसले मलाई थप यस क्षेत्रमा लाग्न हौसला पनि थपेको हो । यसलगत्तै मैले गीतहरू निकालेको भए केही बढी राम्रो हुने थियो तर एक वर्षजति रोकिए । यसको प्रतिफलको टाउकोमा टेकेर अगाडि बढेको भए अधिक राम्रो हुने थियो । मैले एक वर्षपछि म्यासप कभर गीत ‘हिउँभन्दा चिसो’ ल्याएँ । यो पनि राम्रो नै चलेको थियो ।
कतिपय गीतहरू राम्रा हुन्छन् चल्दैनन्, कतिपयले नसोचेको सफलता हात पारेका हुन्छन्, के लाग्छ तपाईलाई ?
– गीत चर्चित हुनका लागि केही आधारहरू पक्कै चाहिन्छ । गीत हिट हुनका लागि प्रचारप्रसार र त्यसलाई दर्शक÷श्रोतामाझ लैजानका लागि च्यानल पनि राम्रो हुनुपर्छ र समय अनुसार शब्द, संगीत पनि उस्तै हुनुपर्छ । खासमा दर्शक र श्रोताको भावनालाई बुझेर गीत ल्याउने हो भने गीतले त्यसै सफलता हात पार्छन् । अलिकति परिस्थितिको पनि यहाँनिर हात हुन्छ कि जस्तो लाग्छ ।
जस्ता पायो त्यतै कलाकारहरूको भीड छ भनिन्छ नेपाली संगीत क्षेत्रमा, केही बुझ्नुभएको छ ?
– तपाईंले भनेको यो कुराको चर्चा चल्न थालेको धेरै भैसकेको छैन । झण्डै ५–७ वर्षमा गायन क्षेत्रमा यस्ता मान्छेहरूको भीड बढ्यो कि कला भएकाहरूलाई ढाक्ने गरी पैसा भएकाहरूको भीड लाग्यो । संगीतकार, गीतकार र अरू यस क्षेत्रसँग नजिक रहेकाहरूलाई पैसाले ढाक्नेहरूले गर्दा यसो भएको हुन सक्छ । यद्यपि कला भएकाहरू ढुङ्गाको काप छेडेर भए पनि पिपल उम्रन्छ भनेझैं एकदिन जसरी पनि अगाडि आउँछ, मात्रै फरक कुरा यत्ति हो कि ढिला र चाडोको अन्तर मात्रै हो ।
तपाईं भविष्य गायन क्षेत्रमै हो या अरू केही सोच्नुभएको छ ?
– जीवनमा सपना र सोचहरू कहिले परिवर्तन कहिले उही अडिग रहँदै आएको छ । गायन मेरो सानैदेखिको रहर हो । गायन क्षेत्रमै केही गरौं भन्ने भावना छ र भविष्यमा पनि यसै क्षेत्रमा केही गर्छु भन्ने छ । अरू कुराहरू साइडमा रहे पनि गायन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर अगाडि बढ्ने सोच छ ।
अन्त्यमा, अबको व्यस्तता र तयारी के छन् छोटकरीमा भनिदिनुस् न ?
– अघि भनेअनुसार दोस्रो एल्बमको तयारीमा छु । त्यससँगै अरू गीतहरूको तयारी पनि छ । वसन्त सापकोटापछि उदय श्रेष्ठको शब्दm संगीतमा नयाँ गीत पनि आउँदैछ । उहाँको शब्द, संगीतमा २ वर्षअघि पनि गाएको थिएँ । त्यतिवेला राम्रो प्रतिक्रिया आएको थियो । यही तिहारपछि उहाँको शब्द, संगीतमा दोस्रो संगालो आउनेछ । विशेषतः पप, आधुनिक, लोकपप, फिल्मी फ्लेवरका गीतहरू गाउन अलिकति सहज लाग्छ । यिनै खालका गीतहरू गाउँदै अगाडि बढ्दै छु ।