मेरो चिना हेरेँ, चलचित्र सुपर डुपर हिट हुन्छ : हरिहर

 

काठमाण्डौं : आगामी चैत -१५ गते प्रदर्शन हुन लागेको चलचित्र सुभ-लभका अभिनेता हरिहर अधिकारीले यो चलचित्रले दर्शकको साथ पाउनेमा आफु ढुक्क रहेको बताएका छन् । रंगपोस्टसँग भएको विशेष भेटमा अभिनेता तथा ज्योतिष हरिहरले भने, ‘अहिलेसम्मको ग्रह-दशा हेर्दा यो चलचित्रको लक्षण राम्रो देखिन्छ । चलचित्रले दर्शकको मन छुन्छ ।’

चलचित्र मन पराउनु र त्यसको कमाई फरक विषय भएको बताउँदै अभिनेता हरिहरले नयाँ कन्सेप्टमा निर्माण गरिएको सुभलभले दर्शकलाई हलसम्म तान्नेमा आफु ढुक्क रहेको बताए ।

कान्तिपुर टेलिभिजनमा ज्योतिष कार्यक्रम चलाएर एकाएक चर्चित बनेका हरिहर यहि चलचित्रबाट चलचित्र क्षेत्रमा पनि भित्रिएका हुन् । दक्षिण एसियाकै युवा ज्योतिषीको एवार्ड पाउन सफल उनिसँगै यो चलचित्रमा क्रिस्टिन पौडेलको पनि अभिनय छ ।

सन्तोषबाबु लोहनीको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, रवीन्द्र झा, प्रदीप बास्तोलालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा हरिहर अधिकारीकै हो । उनले झण्डैं १ वर्ष लगाएर चलचित्रको कथा लेखेका हुन् ।

अहिलेसम्म हजारौंको चिना हेरेर विश्वास जितेका हरिहरको यो चलचित्रलाई तिनै विश्वासहरुले घात गरेनन भने चलचित्र हिट हुने धेरैले अनुमान गरेका छन् । चलचित्र हिट हुन्छ या हुन्न त्यो त आगामी १५ गते थाहा हुनेछ ।