बोबी २ घोषणा, कस्तो होला वाकी कथा ?

 

काठमाण्डौं : रियल जोडीको रियल कथामा निर्माण भएको चलचित्र ‘बोबी’ यस वर्षको असार हिट चलचत्रि हो, जुन गत असार २९ मा प्रदर्शन भएको थियो । प्रदर्शनको पहिलो हप्ता कमजोर व्यापार गरेपनि दोस्रो हप्ताबाट चलचित्रले बक्सअफिसमा पिकअप लिएको थियो ।

मिलन चाम्स निर्देशित उक्त फिल्ममा रियल जोडी उमेश थापा र कविता गुरुङकै अभिनय थियो ।

अब उक्त चलचित्रको दोस्रो पार्ट निर्माण हुने भएको छ । चलचित्रकोको नाम ‘बोबी २ : बाँकी कथा’ राखिएको छ । यसमा पनि रियल जोडीकै अभिनय रहने छ । राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ ।

फिल्मलाई मिलन चाम्सले नै निर्माण र निर्देशन गर्नेछन् । चैत दोस्रो साताबाट छायांकन सुरु हुने फिल्म उमेशको संघर्ष र सफलताको कथामा केन्द्रित हुनेछ ।

पहिलो भागमा अटाउन नसकिएको उमेश र कविताको कथा पनि देखाइने निर्देशक चाम्सले बताए । परिवारको आर्थिक अवस्था कमजोर हुँदा उमेशले बाल्यकालमा गरेको संघर्ष र नर्वे पुगेपछि गरेको संघर्ष र सफलताको कथामा फिल्म केन्द्रित हुने निर्देशक चाम्सले बताए ।  ‘पहिलो पार्टले इमोसनल गरेको थियो, बोबी २ ले प्रेरणा दिनेछ’ उनले भने ।

फिल्ममा उमेश र कवितासँगै विजय लामाको अभिनय रहनेछ । बोबीमा अभिनेता लामाले कविताको अंकलको भूमिका निभाएका थिए । ५० प्रतिशत नर्वेमा छायांकन हुने फिल्मको नेपालमा भने पोखरा र काठमाडौंमा हुनेछ ।

नरेश भट्टराई र गिरिराज घिमिरेले संयूक्त रुपमा उमेशको संघर्ष र सफलताको कथालाई पटकथामा ढालेका छन् । बोबीमा पनि दुवैको पटकथा लेखन थियो । बोबी २ को डिओपीमा सुदीप बराल फाइनल भएका छन् ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण हुने फिल्मको सिनेमेट्रोग्राफरमा नवराज उप्रेती रहने छन् । बनिश शाहले सम्पादन गर्ने फिल्म अर्को वर्षको मध्यान्तरमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।