चीनमा पनि चलेन ठग्स !

 

काठमाण्डौं : भारतपछि चीनमा बक्सअफिसमा पनि बलिउड अभिनेताद्वय आमिर खान र अमिताभ बच्चनको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को असर फिक्का देखिएको छ । इन्डियामा फिल्मले प्रदर्शनको तीन दिनमा सय करोड कमाए पनि त्यसपछि लगातार गिरावट आएको थियो ।

३ सय करोडमा निर्माण भएको यो फिल्मले भारतमा कमाल गर्न सकेको थिएन तर फिल्मको अन्तिम आश चीन थियो, जहाँ आमिरको नामबाटै फिल्म सुपरहिट हुने गर्दथे । तर, यसपटक त्यस्तो केही भएन । चीनमा पनि फिल्म नराम्रोसँग चिप्लिएको छ ।

यसै शुक्रवार चीन रिलिज भएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को कमाईको सुरुवात दयनिय देखिएको छ । फिल्म समीक्षक तरण आदर्शका अनुसार, फिल्मले पहिलो दिन १० करोड ६७ लाख कमाएको थियो । यस्तै, दोस्रो दिन १० करोड ९८ लाख कमाएको छ ।

फिल्मले चीनमा दुई दिनमा कमाएको कलेक्सन जोड्ने हो भने कुल २१ करोड ६५ लाख भएको छ । फिल्मको दुई दिने कलेक्सनबाट यो भन्न सकिन्छ कि चीनमा पनि यस फिल्मको प्रदर्शन त्यस अनुरुप भएन जति अपेक्षा गरिएको थियो । ‘ठग्स अफ हिन्दोस्तान’ लाई विजय कृष्णा आचार्यले निर्देशन गरेका हुन् ।