कलम लर्काएरै लाखौं फ्यान

 

काठमाण्डौं : कोहि भेटिए उनी मुसुक्क मुस्कुराईदिन्छन् । मन मिल्नेसँग  तुरुन्तै चिया खाने प्रस्ताव गर्छन् । मन मिलेन, हात मिलाएर आफ्नो वाटो लाग्छन् । कलम चलाएर टन्नै फ्यान कमाउने उनी थोरै पात्रमध्येका एक हुन् । उनलाई केलाउनुपुर्व सुरुमै भनौं, ‘जन्मदिनको लाखौं सुभकामना एकनारायण भण्डारी !

रातो कोटमा सजिएर कारबाट फुत्त बाहिर निस्किएका एकनारायण अलिकति हतार देखिन्थे । उनको पहिलो परिचय, मुसुक्क कुस्कुराए । साईडमै रहेको सामान्य क्याफेमा पस्यौं । २ वटा व्ल्याक टि को अर्डर लिएर गयो, वेटर । अनि एकनारायणले फेरी भने, उ पनि ल्याउनुस् है ! अचम्म मान्दै मैले भने, उ भन्या के नी ! उनले मुस्कुराए मात्रै । चिया आयो । अनुहारको अघिल्तिरवाट तितरवितर हुदै आकाशतर्फ फैलिरहेको एउटा धुवा“लाई हातैले साईड लगाउँदै उनले थपे, ‘यसो कहिलेकाही नी !

०००

सिम्पल छन् उनी । तर ह्याण्डसम । भण्डारीको लाइफस्टायल आरिसलाग्दो छ । बिहान समयमै उठ्छन् । चिया वा कफी पिएपछि एकैछिन दिनभरी के काम गर्ने भन्नेबारे योजना बनाउँछन् । घरमा श्रीमतीले बनाएको मिठो खाना स्वाद मानेर खान्छन् र चिरिच्याट्ट परेर कार स्टार्ट गर्छन् । अफिस हुइँकिन्छन् । साँझ अबेरसम्म भट्टी बसेर मदिरा पान गर्ने बानी छैन, समयमै घर पुग्छन् । कहिलेकाही उस्तै मन मिल्ने साथी भेटिए, २ प्याक सम्म लिन्छन् पनी ।

०००

जो पायो त्यही व्यक्तिलाई भेट्दैनन एकनारायण । चियाँ कफी खाने साथिहरुको सानो सर्कल छ । त्यो भन्दा वाहिरका कोहि भेटिए, व्यवसायीक नाता मात्रै । गीत लेखेरै काठमाडौंको लाईफस्टायलमा भिजेका छन् । दिनमा २–३ वटासम्म गीत बनाउन भनेर फोन आउँछ । पैसा कमाउँछु भनेरै काम गरेको भए यो हिसाबले एक महिनामा ६० वटा गीत लेखिन्थ्यो र ९ लाख रूपैयाँ कमाइ हुन्थ्यो,’ उनी मुस्कुराउँदै भने, ‘यदि दिनको एउटा गीत लेखे पनि ४ लाख बढी कमाइ गर्न सक्थेँ, तर मैले त्यसो गरेको छैन ।’ एकनारायण स्वतन्त्र रुपमा काम गर्न चाहन्छन् । धेरै सपना छैन । सानो सपनामा खुसी खोज्छन् । अनुहारको चिउडोमा हात राखेर उनी थप्छन्, ‘अनि त्यही खुसीमा सपना सजाउँछु । यसो गर्दा सपना पुरा हुने र दुःखी हुने कुनै कारण हुन्न ।’

०००

महिनामा ४ देखि ५ वटा गीत लेख्छन्, तर दमदार पारिश्रमिक लिएर । महिनामा औसतमा एक लाख कमाउँछन् । धेरैले उनलाई भन्ने गर्छन् ‘अधिकांश गीतकार सधैँ छायाँमा नै रहन्छ । कमाइ उत्ति धेरै हुँदै हुन्न’ तर, यसका अपवाद हुन, एकनारायण भण्डारी । २०६१ सालमा उनले लेखेको गीत ‘डाँफे नाचेर’ हिट भएपछि उनलाई कहिल्यै पछि फर्किएर हेर्नुपरेको छैन । त्यो गीत यति चल्यो कि भनिसाध्य नै छैन । जसले उनको करियरलाई एउटा उचाइमा पु¥यायो । गीत लेखनमा एकनारायणको आफ्नै ताल हुन्छ । उनी एक्लै रमाउँछन, लेखनमा । उनलाई एक्लोपन भएन भने लेख्ने सुर चल्दैन । एक्लो वातावरणमा लेखेर लाखौं फ्यान कमाउने एकनारायण नाम मात्रैका एक्ला हुन्, तर उनी एक्ला भने छैनन । उनको साथमा लाखौं श्रोता छन्, डाईहार्ड श्रोता ।

०००

अहिलेसम्म १ हजारको हाराहारी गीत लेखिसकेका छन । ‘मेरो मनैको फूल टिपी,’ ‘मूल हौ भने रसाइदेऊ,’ ‘घुम्ती निर सोल्टिनी,’ ‘सुपारी चाम्रो,’ ‘ओ ढलें,’ ‘लालुपाते नुघ्यो भुइँतिर,’ ‘जिम्बल बाको आँगनीमा,’ ‘तिर्खा लाग्यो पानी खाएँ,’ ‘रातो पछ्यौरी,’ ‘नाइँ मलाई था छैन,’ ‘मलाई बाँसुरीले रूवायो,’ ‘कम्मरमाथि पटुकी’ अथवा पछिल्लो समय निकै चलेको गीत ‘म बाँचेकै तिमीसँग माया लाउन हो’ लगायत बहुचर्चित तथा सदाबहार हिट गीतहरू उनको कलमबाट जन्मिएका छन् ।

०००

पछिल्लो समय नेपाली सुगम संगीतको क्षेत्रमा निकै चल्तीका गीतकार मानिन्छन् उनी । लोकगीत क्षेत्रका त वादशाह नै हुन् भन्दा त्यति अत्युक्ति नहोला । उनका सिर्जनाहरू यति चर्चित छन् कि, एकनारायण भन्ने नामै नसुनेका स्रोताहरू पनि उनका गीतहरू मनमष्तिस्कभरी सजाएर हिँड्छन् । मायामा धोका पाएकाहरू उनकै गीतलाई साथी बनाएर जिउने तरिका खोज्छन् । प्रेममा चुर्लुम्म डुवेकाहरू उनकै गीतहरू सुनेर प्रेमलाई अझै अमर बनाइरहेका हुन्छन् । ‘प्रेमको युद्धमा एकले अर्कालाई धोका दिए पनि मेरा गीतले कहिल्यै धोका दिने छैनन,’ उनी गम्भीर भएर थप्छन, ‘यदि मैले पनि धोका दिने हो भने यो प्रेमको युद्ध अझ बढी रणभूमिमा परिणत हुनेछ ।’

०००

लोकभाका, सुगमसंगीत वा फिल्मी गीत जताततै फिट छन् एकनारायण, मल्टिप्लकजस्तै । ०६० को दशकदेखि गीत लेख्न सुरू गरेका उनको गीतप्रतिको जोश र जाँगर अझै पनि उस्तै छ । उस्तै उत्साहका साथ लेखिरहेछन् गीतहरू जुन गीतहरू हरेक स्रोताको मनभित्र ढुकढुकी भएर बस्ने गर्छन् । उनी एकदमै मिहेनत गर्ने गीतकार हुन् । आफूले लेखेको गीतलाई गुणस्तरीय बनाउन कुनै हरसम्भव कोसिस गर्छन् । उनी लेखनको लागि फिल्ड भिजिट गर्ने गीतकार पनि हुन् । उनी एकैछिनमा दुईचार शब्द तयार पारेर कामचलाउ गीत लेख्ने गीतकारभित्र पर्दैनन् । उनी सांगीतिक रचेतसहितका गीतकार हुन् जसले गीत दिएर खाममा रकम मात्र बुझ्दैनन्, कुन गायकले स्वर दिँदैछ भन्ने कुराको समेत हेक्का राख्छन् ।

०००

एकनारायणले स्याङ्जा हुँदा गीत लेखेर पनि पैसा कमाउन सकिन्छ भन्ने थाहा पाएका रहेछन् । रेडियो तथा टिभीमा अन्र्तवार्ता सुनेर उनले पनि सोचेछन् ‘गीत लेखेर पनि टन्न कमाइँदोरहेछ नि !’ ‘दिनको ३ वटासम्म गीत लेखिन्छ, काठमाडौं बसेर धमाधम गीत लेख्दै पैसा कमाउँछु भनेर सोचें,’ उनी विगततिर फर्कंदै बोले, ‘गीतकार बन्नकै लागि ०५९ सालमा स्याङ्जाबाट काठमाडौं आएँ, जीविका चलाउने माध्यम यसैलाई बनाएँ ।’ बिहान उठेदेखि सुत्नेबेलासम्म सबैलाई गीत चाहिन्छ । मान्छे त निदाउँदासम्म पनि कानमा इयरफोन खाँदेर सुत्ने गर्छन् । गीतबिनाको जिन्दगी त शायदै ,कल्पना गर्न सकिएला ! तर यो बाटोमा छोराछोरी लागे कसैले राम्रो मान्दैनन,’ उनले भने, ‘मेरो घरमा पनि ‘काठमाडौं महंगो छ, पोखरा अथवा बुटवल बसेर पढ्, गीत लेखेर के नै हुन्छ र !’ भन्नुभएको थियो, तर पछि जति भयो सबै गीत लेखेर नै भयो, अहिले परिवार पनि खुसी छन् ।’

०००

एकनारायणलाई आजभोलि एउटा कुराले साह्रै चिन्तित बनाएको छ । ‘एउटा गीत राम्रो बनाएर वजारमा पठाउँदासम्म अति धेरै मिहेनत गर्नुपर्छ,’ उनले भने, ‘तर, यहाँ त जस्तो पायो त्यस्तै गीत बन्न थाले, जुन क्रम बढेको बढ्यै छ ।’ यसले भविष्यमा नेपाली कलालाई कुन खाडलमा लगेर जाक्ने हो भनेर उनी चिन्ता गर्छन् । वर्तमान नेपाली गीतबाट हराएको मौलिकता फेरी आउने पुस्ताले कहाँ भेट्ने होलान् भनेर खुब पीर गर्छन् उनी । रेडियो नेपालमा जतिबेला गीत रेकर्ड गर्ने चलन थियो, त्यतिबेला जस्तो पायो त्यस्तो गीतहरू बन्दैन थिए । गीत छानेर मात्रै रेकर्ड हुने गथ्र्यो । उनले पनि खुबै दुःख झेलेर यो अवस्थासम्म आइपुगेका छन् । उनले भने, ‘अहिले त जो पनि गीतकार, जो पनि गायक, जो पनि संगीतकार, अचम्म लाग्छ ।’ रहर मेट्न संगीत क्षेत्रमा आउनेहरूको कारण संगीत क्षेत्रले आफ्नो मौलिकता गुमायो भन्छन् एकनारायण । पहिले सौखका लागि गीत–संगीत गर्ने चलन थियो, राम्रो र गुणस्तरीय चिज आउँथ्यो । तर, अहिले रहर मेटाउनेहरूको प्रवेश भयो र संगीतले कला गुमायो । जसले अबको नेपाली संगीतको भविष्य कस्तो हुन्छ होला भनेर एकदमै पीर गर्छन् उनी । ‘स्वर हुँदैन, गायक बन्छु भन्दै आउँछन, लेख्ने कला हुँदैन २ शब्द लेखेर टिपनटापन गरेर गीतकार हुन्छु भन्छन,’ उनी निराश हुँदै भन्छन, ‘हिट गीत बनाउन जस्तो पायो त्यस्तै शव्द राख्ने चलन बढ्यो ।’ यो माहौलले मिहेनत गर्ने, गीतमा साहित्यिक स्वाद भर्ने एकनारायण जस्ता सिर्जनशील गीतकारलाई नराम्ररी गाँजेको छ । यो तीतो सत्यबारे बुझेका एकनारायणलाई पैसा कति चाहियो, गीत लेखिदिनुप¥यो भन्नेहरू धेरै आउँछन, तर पैसाकै लागि आफ्नो सिर्जना सुम्पन तयार हुँदैनन उनी । आफ्नो गीत रेकर्ड हुँदा रेकर्डिङ स्टुडियो पुगेर हेर्ने उनी सायद थोरै गीतकारमध्ये एक हुन् । कहिलेकाहीँ नराम्रोसँग फसेका छन् । राम्रो गायकले गीत गाउँछ भनेर शब्द लेख्न लगाउँछन् तर, पछि अर्कैले गाइदिन्छ । उनी लामा सास तानेर भन्छन, ‘गीतको मर्म विपरीत रेकर्ड भइदिएर बजार पुग्छ, म त ट्वाँ पर्नु बाहेक अरू के गर्न सक्छु र !’ नारायणगोपालका पालामा जति पैसा दिए पनि शव्द नहेरी गीत रेकर्ड हुँदैनन थियो, लाइभ गीत गाउनुपथ्र्यो, खुबै मिहेनत गरेर स्टुडियो छिर्नुपथ्र्यो । ‘अहिले सामान्य स्वर भएकाहरू स्टुडियो पसे भने पनि खतरा गायक बन्छन्,’ उनी चिन्तित मुद्रामा बोल्छन्, ‘टेक्नोलोजी पनि अचम्मको निस्किएको छ, जस्तो भन्यो त्यस्तै गीत बनेर आइहाल्छ ।’ शव्द, संगीत, स्वर सवै कमजोर बनेको उनको विश्लेषण छ ।

०००

गीत लेखेर पनि पैसा कमाइन्छ ? नाम कमाइन्छ ? कुनै सेलिब्रेटी बन्न सकिन्छ ? यस्ता प्रश्न छन् भने एकनारायण भण्डारी एउटा गतिलो उदाहरण हुन् । उनको जीवनशैली देखेपछि कसैले पनि सोच्न सक्दैनन् कि ती सब उनले गीत लेखेर कमाएका हुन् । अक्षरको खेती गरेर कमाएका हुन् । नाम राम्रै कमाएका छन् । दाम पनि टन्नै कमाएका छन् । कारमा हिँड्छन् । गीतकार भएर पनि टन्नै फ्यान फलोइङ छ । प्रेमिल मनहरूका सारथी बनेका छन् एकनारायण । उनले धेरैको मनमुटु जोडेका छन् । धेरैको घाईते मुटुमा मल्हम लगाएका छन् । गीतकार बनेर यसरी चर्चा कमाउन उनले थोरै मिहेनत भने गरेका छैनन् । उनको चलाखी एउटा कुरामा मात्रै हो, गीतका शब्दहरू जहिले सुने पनि, जसले सुने पनि, जहाँ सुने पनि सुनौंसुनौं लाग्ने बनाउने । अचम्मको कुरा के छ भने गीतकारको रूपमा चर्चित एकनारायणलाई धेरैले गायक भनेर अलमलिन्छन् । गीत पनि गाएका छन, तर उनी गायकभन्दा बढी गीतकार हुन् । सबैले गायक भन्न थालेपछि उनले एउटा गीतमा स्वर भर्ने आँट गरे । देवी घर्तीसँग ‘आँखा खोल्छु होला’ बोलको गीत रेकर्ड गराए । उनलाई गीतकार हुन सानैदेखि रहर भए पनि गायक बनेर चिनिन्छु भन्ने कहिल्यै लागेनछ । ‘गीतकारको परिचय नै प्यारो छ,’ उनले थपे, ‘मैले गीत लेख्ने मात्रै हैन, धेरै गीतमा संगीतसमेत भरेको छु ।’