ईमान्दार विपीन कार्की

 

न त हिरो हुनलाई चक्लेटी अनुहार नै छ, न त हिरो हुनलाई उनमा खासै गुण छैन जस्तो लाग्छ झ्वाट्ट हेर्दा । चलचित्र ‘छड्के’ मा विन्दु माझिको भूमिकामा प्रस्तुत भएर आफूलाई अब्बल छाप छोडेका उनले ‘पशुपति प्रसाद’ को भष्मे डन चरित्रबाट सबैको मनमा बस्न सफल भए । उनी नेपाली चलचित्रको मानक भत्काइरहेका अभिनेता हुन् ।

गम्भीर स्वभावका विपिन त्यति खुलेर बल्दैनन् । कार्यक्रम प्रांगणमा नै थिए उनी । उनको मनमा आवर्ड जित्छु भन्ने थिएन । अवार्डको आशाले कहिल्यै काम गरेनन । राम्रो कामको प्रतिफल पाउँदा जो कोही हर्षित भइहाल्छ नि !,’ उनी भन्छन्, ‘स्वभाविक रूपमा अवार्ड पाउदा खुशी भइहालिन्छ । तर, मलाई विश्वास थिएन ।’ उनीभन्दा अभिनयमा दख्खल भएको दयाहाङ राई थिए त्यहाँ । अन्य दमदार अभिनय भएकाहरू पनि थिए । तर पनि उनले जिते अवार्ड ! उनी भन्छन, ‘मलाई नयाँ जिम्मेवारी पनि बोध गराएको छ ।’ तर अवार्ड नपाएको भए पनि उनी दुःखी हुने थिएनन् । अझै राम्रो काम गर्नको लागि प्रत्साहन मिलेको अनुभव सुनाउँछन् उनी ।

यस्ता अवार्डहरूले फिल्म उद्योगलाई विकास र प्रर्वद्धन गर्न सहयोग पुर्याउँछ भन्ने लाग्छ उनलाई । उनले कसरी अवार्ड हात पारे र किन दिइयो भन्दा पनि उनले गरेको मिहेनतकोे मुल्याकन भने अवश्य भएको हो भन्ने आंकलन सजिलै गर्न सकिन्छ । ‘मेरो काँधमा नयाँ जिम्मेवारी आएको छ,’ उनी हर्षित मुद्रामा बोल्छन, ‘हुन त म अवार्ड पाउँदा राम्रो काम गर्ने र नपाउँदा नराम्रो काम गर्ने, त्यो मेरो स्वभाव छैन । म जहाँ छु अहिले मेरो स्वार्थले यहाँसम्ममा आएको हुँ ।’

उनी कसैको करकापले यो फिल्डमा आएका होइनन् । उनले मात्रै गरेर चलिचत्र उद्योग विकास हुने करा पनि होइन । भन्छन, ‘सबैजनाले राम्रो काम गरांै भोलि सबैको मुल्यांकन हुन्छ ।’

अरू अभिनेताको लेखाजोखा खासै गर्दैनन् उनी । सबैले उत्कृष्ट काम गरेको जस्तो लाग्छ उनलाई । तर अचम्म के भने अन्य अभिनेताको भन्दा उनले कम चलचित्रमा अभिनय गरेका छन् । अहिले सम्म ८ ÷१० वटा फिल्ममा अभिनय गरेका विपिनका केही फिल्म बाहेक प्रायः सहायक रोल छ । पछिल्लो समय उनले चलचित्र प्रसादमा काम गरेका छन्, जुन चलचित्र यतिवेला प्रतिक्षीत वनेको छ, सवैमाँझ ।

अरु अभिनेता भन्दा कम स्मार्ट देखिन्छन् उनी । कालो वर्णको । झुस्स दाह्री जुँगा पालेका । अग्लो कदका उनी बाहिरी आवरण हेर्दा हिरो हुने कुनै पनि गुण छैन उनमा । तर अन्य अभिनेताको भन्दा ज्यादा अभिनय कौशलता बेच्ने गर्छन् उनी । यो त कामना फिल्म अवार्डले नै प्रमाणित गरिसकेको छ । ‘अवार्ड पाउनुमा मेरो कामप्रतिको लगावको प्रतिफल हो जस्तो लाग्छ,’ गम्भीर मुद्रा थप्छन, ‘यो मानेमा अरू अभिनेताले पटक्कै काम नगरेको भन्नु त मिल्दैन । किन भने उहाँहरूले पनि काम राम्रै काम गरिराख्नु भएको छ ।’

नेपाली सिनेमालाई के दिए त ?

विपिनले नेपाली सिनेक्षेत्रमा पाइला टेकेको १० वर्ष हाराहारी भएको छ । यो क्षेत्रमा आएका उनका समकालीन अन्य अभिनेताहरूको लेखाजोखा गर्दा १५÷२० वर्ष बिताइसकेका छन् । उनी आफूले नेपाली फिल्म उद्योगलाई के दिएँ भन्दा पनि अभिनयमार्फत् उनले आफ्नो क्षेत्रबाट काम गरिरहेको ठान्छन् । कामको मुल्याँकन हो पनि जस्तो लाग्छ । आफ्नोे कामको क्षमतालाई निखार ल्याउन कोसिस गरिरहेका छन् । आफूले सकेसम्म र आफ्नो क्षमताले भ्याएसम्म कामलाई निन्तरता दिइरहने सोच छ उनको । सिनेमाको अभिनयभन्दा नाटकको अभिनयमा रमाउने बताउँछन् विपिन । तर नाटक भने परिआएको खण्डमा मात्र गर्ने बताए । आखेरी नगरुन् पनि कसरी ! उनको अभिनयको पहिलो गाँस नै नाटक थियो । जहाँबाट उनी अभिनयको यात्रामा निस्किए । यदि नाटक हुँदैन थियो त आज उनको चौतर्फी प्रशंसा हुदैन थियो । उनी भन्छन, ‘आज विपिन कार्की जहाँ छ त्यो आरोहण गुरूकुलले गर्दा नै हो ।’

कसरी आए त रंगिन दुनिया ?

विपिन कुनै शहरिया वातावरणमा हुर्किएका होइनन् । २०३९ साल मोरङको बाहुनीमा जन्मिएका थिए । तराई भए पनि खासै विकसित थिएन बाहुनी । उनी भन्छन, ‘मलाई अझै पनि याद छ, गाउँतिर मोटरसाइकल आउँदा दौडिएर गइन्थ्यो ।’ विपिनको बुबा भरतीय आर्मी थिए । स्कुलमा पढाउने शिक्षक आफ्नै घरको डेरामा । उनलाई स्कुलमा कहिल्यै दास्रो हुन परेन । १४ वर्षको उमेरमै एसएलसी दास्रो श्रेणीमा पास गरे ।

उनलाई विज्ञान विषय लिएर पढ्ने इच्छा चाहिँ थियो । उनी भन्छन, ‘जागिर खान सजिलो थिएन । सबैले टेक्निकल विषय पढाउनुपर्छ भनेपछि आमाले धानकुटा पठाउनु भयो ।’ होस्टेल बसेर पढ्थे । धनकुटामा साथीभाइसँग राम्रै संगत गर्थे । महंगा होटलहरूमा खाने साथीभाइसँग हिँड्ने हुलिया टाइपकै थिए । उनी हाँस्दै भन्छन्, ‘सिएमएमा छात्रावृद्धिमा नाम निकाले तर घरमा भनिनँ, घरबाट पठाएको पैसा फुर्मासी खर्चमै सकिन्थ्यो ।’

सिएमएको पढाइ सकेपछि उनले क्लिनिक खोले । तर त्यसमा मन अडिएन । उनी बताउँछन, आफ्नै दाइ अर्जुन कार्की हिरो थिए । घरमा दाइको फिल्म र फोटो हेर्दा उनलाई पनि लोभ लाग्थ्यो । गाउँले छिमेकी कमल मणि नेपाल थिए । कमल दाइहरूले मलाई नाटकमा सानोतिनो रोल दिनुहुन्थ्यो ।’ २०५६ सालमा उनि काठमाण्डौं भित्रिए । यहाँ उनी आफ्नै दाइसँग बस्न थाले । नेपाली सहित्यतर्फ झुकाव भएकोले रत्नराज्य कलेजमा भर्ना भए । फुर्सदमा दाइसँग सुटिङमा पुग्थे । काठमाडांैमा आएर छिमेकी दाइ कमलमणि नेपाल सुनिल पोख्रेलको आरोहण गुरुकुलमा नाटक सिक्न थालेका रहेछन् । कमल दाइको नाटक पनि हेरेका थिए उनले । कमलमणि नेपालकै कारण गुरुकुल पुगे । साइड जब रक्सीको मार्के्टिङ गर्थे उनी । फुर्सदको समयमा गुरुकुलमा धाउँथे । बिस्तारै सौगात मल्ल, राजकुमार पुडासैनीको संगत बढ्न थाल्यो । बिस्तारै छिटफुट नाटकमा अभिनय पाउन थाले । उनी सम्झछन, ‘मेरो टर्निङ प्वाइन्ट नै आरोहण गुरुकुल भयो । कसैले जर्बजस्ती यो क्षेत्रमा ल्याएको होइन,’ विपिन बताउँछन् ।

विपिनको ‘तराबाजी लै लै’ पहिलो नाटक थियो । उनलले अहिलेसम्म दुई दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् । आरोहण गुरुकुलमा नै आफ्नो अभिनय जीवनलाई अगाडि बढाइरहेका थिए । गुरुकुल बन्द भएपछि उनको जीवन चलाउन । अन्य काम गर्नु परेकाले बिस्तारै चलचित्रमा आर्कषण भएको उनी बताउँछन् ।
महंगा विपिन
यतिवेला उनी चलचित्र गोपीको छायाँकनमा व्यस्त छन्, सायद यो चलचित्र अव अन्तिम चरणमा छ, सुटिङको । विपिनको अभिनय देख्दा जो कोहीको पनि मन लोभ्याउँछ । हरेक चलचित्रमा फरक चरित्रको भूमिकामा अभिनय गर्न खप्पीस उनले पछिल्लो समय चौतर्फी प्रंशसा बटुलरहेका छन् । उनी थप्छन्, ‘काम दिने हो । मेरो कामलाई दर्शकले कत्तिको रुचाउनु हुन्छ, सोहीअनुरुप बढ्ने–घट्नेत होनि !’ कलाकारको पारिश्रमिकभित्र कम रकम दिने र बाहिर हल्ला ठूलो रकमको हुन्छ । तर उनले भने बाहिर हल्ला जति रकमको भएको छ त्यो सत्य हो र अरूको विषयम आफू जानकार नभएको बताए । विपिनको हातमा महिनामा १० वाट फिल्मको स्क्रिप्ट पर्छ । हाँस्दै भन्छन, ‘यो त मेरो कामले होला । सायद, मेरो काम मन नपराइदिएको भए म यो ठाउँमा कहा हुन्थेँ र ।’

अनावश्यक स्टारडम छैन

अधिकांश चलचित्रमा उनको नामभन्दा पनि फरक पात्रबाट उनी परिचित छन् । चलचित्र ‘ताण्डव’ बाट रक्स्याहा ड्राइभरको भूमिकामा देखिए । चलचित्र ‘छड्के’ बिन्दु माझीको भूमिकामा थिए । ‘पशुपतिप्रसाद’, ‘जात्रा’ लगायत जति पनि चलचित्रमा उनी देखिए, सबै चलचित्रमा नोटिसमा परे उनी । उनको नयाँ चलचित्र ‘नाका’ मा पनि निकै भिन्न रुपमा देखिए । फरक चरित्रमा हरेक चलचित्रमा उभिनु र न्याय गर्नु उनको विशेषता हो । यही विशेषताको कारणले उनी नेपाली चलचित्रप्रेमीहरूमाझ प्रिय छन् । विपीनको जति नाम छ, जति लोकप्रियता छ उनी त्यो देखाउँदैनन । उनी काममा निकै विश्वास गर्ने अचम्मका कलाकार हुन । काम भन्दा धेरै वोल्ने र गफ गर्ने अनुहार भन्दा भिन्न पात्र हुन, नेपाली चलचित्रका यि लोकप्रिय हिरो ।